काठमाडौं । हाल नेपालमा पश्चिमी तथा स्थानीय वायूसँगै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित अन्य पहाडी र हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ।
कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा देशका अन्य हिमाली क्षेत्रमा छिटफुट वर्षा वा हिमपात हुन सक्छ। साथै बागमती र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी मधेश प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई तथा उपत्यका क्षेत्रमा गर्मी बढ्ने अनुमान गरिएको छ।
आज राति भने हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम विभागले जनाएको छ।


