काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ, नेपालको तराई भूभाग नजिक रहेकाले देशभर मौसम बदली भएको छ।
हाल बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मधेस प्रदेशका एक-दुई स्थानमा पनि वर्षा भएको विभागले जनाएको छ।
दिउँसोको पूर्वानुमान
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मध्यम वर्षासँगै हिमपातको सम्भावना रहेको छ। पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।
बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थान तथा मधेस, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तराई क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।
बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई क्षेत्र, कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, साथै लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा धेरै भारी वर्षा हुने सम्भावना पनि रहेको छ।
रातिको अवस्था
राति पनि देशभर मौसम बदली रहनेछ। हिमाली क्षेत्रमा केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना कायम रहनेछ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र, साथै मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। कर्णाली प्रदेशका पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्र, साथै मधेस र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।


