काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदरभन्दा उत्तरतर्फ तथा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास रहेकाले मौसममा व्यापक प्रभाव परेको हो।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। यी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। बागमती र गण्डकी प्रदेशका तराई तथा कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिमका केही तराई क्षेत्रमा पनि वर्षा हुन सक्ने विभागले जनाएको छ। बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
विभागले निरन्तर वर्षाका कारण नदी तथा खोलामा बहाव बढ्न सक्ने, बाढी, पहिरो, डुबान र भूक्षयको जोखिम रहने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाई विभागका पछिल्ला मौसम सूचनामा नियमित अद्यावधिक रहन अनुरोध गरेको छ।


