काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास रहेकाले अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।
हाल देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली छ। कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो हिमाली र पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्य बदली रहनेछ भने मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।
मौसमविद्का अनुसार हिमाली क्षेत्रका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्नेछ।
त्यसैगरी, कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, मधेश प्रदेश तथा कोशी प्रदेशका तराईका थोरै स्थानमा पनि वर्षाको सम्भावना छ।
रातिको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।


