काठमाडौँ, २० असोज। हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहने अनुमान गरिएको छ।
यसैगरी, कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली हुने अनुमान गरिएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थानहरूमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ।


