काठमाडौँ, १५ असार: हाल देशभर मनसुनी वायुले प्रभाव जमाएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण रूपमा बदली रहनेछ।
वर्षा र चट्याङको सम्भावना
गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। ती प्रदेशका केही स्थानहरूमा भने भारीदेखि धेरै भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, अन्य प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
राति पनि बदली रहने पूर्वानुमान
महाशाखाका अनुसार आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पुनः व्यापक रूपमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा अन्य प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना दोहोरिएको छ। उच्च पहाडी र हिमाली भूभागहरूमा पनि राति हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने देखिएको छ।
सावधानी अपनाउन आग्रह
वर्षा र हिमपातको सम्भावनालाई ध्यानमा राख्दै सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। विशेषगरी पहाडी र हिमाली भू–भागमा यात्रारत नागरिक, कृषक, तथा स्थानीय निकायलाई आवश्यक तयारी गर्न भनिएको छ।


