काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ औसत स्थानको नजिक र पूर्वतर्फ औसत स्थानको उत्तर भागमा अवस्थित भएकाले मौसम बदली भएको हो।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्य बदली छ भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
दिउँसो अधिकांश स्थानमा आकाश आंशिकदेखि पूर्ण रूपमा बदली रहनेछ। सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी क्षेत्रका धेरै स्थानहरूमा र बाँकी तराई भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। त्यस्तै, बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना पनि रहेको छ।
राति देशका पहाडी क्षेत्रहरूमा सामान्य बदली र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। देशका पहाडी क्षेत्रका केही स्थानहरूमा र तराईका एक-दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सर्वसाधारण र सम्बन्धित निकायहरूलाई आवश्यक सतर्कता अपनाउन र समय–समयमा मौसम अपडेट लिइ रहन महाशाखाले अनुरोध गरेको छ।


