काठमाडौँ — हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानको आसपासमै कायम छ, जसका कारण देशका अधिकांश स्थानहरूमा बदली र वर्षाको अवस्था देखिएको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी भू–भागका केही स्थानहरूमा र तराईका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। यस्तै, गण्डकी, बागमती र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावनासमेत रहेको विभागले जनाएको छ।
आज राति पनि देशभर सामान्य बदली रहने पूर्वानुमान गरिएको छ। रातिको समयमा पनि गण्डकी प्रदेशलगायत पहाडी क्षेत्रका केही स्थानहरूमा र तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
विभागले सम्भावित भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै पहिरो, बाढी तथा डुबानजस्ता प्राकृतिक जोखिमप्रति सतर्क रहन सबैलाई आग्रह गरेको छ।


