काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन केही कमजोर भएको जनाएको छ। यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशभर सामान्यतया बदली छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो पनि देशभर सामान्यतया बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई तथा पहाडी भूभागसहित अन्य पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, लुम्बिनी प्रदेशको तराई, कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।


