काठमाडौँ, २७ साउन । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेर नेपालको तराई नजिक सक्रिय भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ।
देशका पहाडी भूभागका धेरै स्थान र मधेस प्रदेशलगायत अन्य प्रदेशका तराईका केही स्थानमा मध्यम वर्षा पर्ने सम्भावना छ। कोशी प्रदेशको पहाडी भागका एक–दुई स्थानमा भने भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
आज राति देशभर पूर्णतया बदली रहनेछ। मधेस, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भागका धेरै स्थान र अन्य प्रदेशका पहाडी–तराई भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
यस्तै, मधेस प्रदेश, कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भागका केही स्थानमा भारीदेखि अत्यधिक भारी वर्षा हुनसक्ने, गण्डकी प्रदेशका पहाडी–तराई भाग तथा लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


