काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। यसका कारण तराईका धेरै स्थानमा हुस्सु लागेको छ भने गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदली रहेको छ। बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लागिरहनेछ। साथै देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
आज राति पनि तराईका अधिकांश स्थानमा हुस्सु कायम रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।


