काठमाडौं — हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
त्यस्तै, देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
आज राति पनि तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने अनुमान गरिएको छ। रातिको समयमा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।


