काठमाडौँ, २४ जेठ: हाल देशको पश्चिम तथा मध्य भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव देखिएको छ, भने कोशी प्रदेशमा भने मनसुनी वायुको असर सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार, हाल कोशी, मधेश, बागमती प्रदेशलगायतका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ भने अन्य स्थानमा मौसम सामान्यतया सफा छ। कोशी र मधेश प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसोको पूर्वानुमान
आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। अन्य भू–भागहरूमा मौसम सामान्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थान र अन्य प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको छ।
रातिको पूर्वानुमान
आज राति पनि कोशी प्रदेशलगायत पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ, अन्य स्थानमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। ती क्षेत्रका उच्च–पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा वा हिमपात हुने सम्भावना पनि महाशाखाले जनाएको छ।
सावधानी अपनाउन आग्रह
देशका उच्च–पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने चेतावनी दिँदै मौसम महाशाखाले आवश्यक सतर्कता तथा पूर्वतयारी गर्न सबैमा अनुरोध गरेको छ।


