काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले देशको इतिहासप्रति गर्व गर्दै त्यसबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताएका छन्।
कांग्रेसको संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले इतिहासलाई उपेक्षा गरेर मुलुक अघि बढ्न नसक्ने भन्दै देशको इतिहासप्रति गर्व गर्नुपर्ने धारणा राखे। उनले मुलुक अहिले संकटपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै यस्तो अवस्थामा कांग्रेसको जिम्मेवारी अझ बढेको बताए।
विशेष महाधिवेशनका नाममा कांग्रेसलाई कमजोर बनाउने प्रयास भइरहेको दाबी गर्दै देउवाले यस विषयमा सर्वोच्च अदालतबाट न्याय प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताए।
पार्टीभित्र चरम विवाद उत्पन्न भएका बेला पनि सहकार्य र मेलमिलापमार्फत कांग्रेस अघि बढेको इतिहास रहेको उल्लेख गर्दै उनले सबै नेता तथा कार्यकर्तालाई पार्टीको एकताका लागि एकजुट हुन आह्वान गरे।
देउवाले मुलुकमा आर्थिक तथा सामाजिक समस्या अझै कायम रहेको बताए। संविधान कार्यान्वयनका क्रममा देखिएका समस्या र कमजोरीलाई सबै पक्षको सहमतिमा समाधान गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए।
उनले वर्तमान चुनौतीको सामना गर्न कांग्रेसभित्रको एकता र सहकार्य आवश्यक रहेको बताउँदै पार्टीलाई थप सुदृढ बनाएर लोकतान्त्रिक मूल्य र राष्ट्रिय हितको संरक्षणमा केन्द्रित हुनुपर्ने धारणा राखे।


