काठमाडौं । हाल देशका उच्च भूभागहरूमा हिमपात भइरहेको छ। बंगालको खाडीमा सक्रिय शक्तिशाली चक्रवात ‘मोन्था’ को प्रभाव नेपालमा समेत परेको छ।
यसको प्रभावका कारण देशका केही भागमा वर्षा भएको छ भने उच्च हिमाली क्षेत्रहरूमा हिमपात भइरहेको छ। मुस्ताङ जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत मुक्तिनाथ क्षेत्र लगायत उपल्लो मुस्ताङका अधिकांश स्थानहरूमा भारी हिमपात भएको छ।
घरपझोङ गाउँपालिका र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकासहितका क्षेत्रमा भएको हिमपातका कारण मुस्ताङ भ्रमणमा आएका पर्यटक र मुक्तिनाथ दर्शनका लागि पुगेका तीर्थयात्रीहरूलाई यात्रा र आवागमनमा असहजता भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनाङको माथिल्लो भागमा पनि हाल भारी हिमपात भइरहेको छ।
गत १२ घण्टामा विशेष गरी गण्डकी प्रदेशका धेरै स्थानहरूमा, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा, साथै कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका पहाडी तथा तराई भूभागमा हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात भएको महाशाखाले जनाएको छ।

मनाङ, ११ कात्तिकः मनाङको माथिल्लो भेगमा भारी हिमपात हुँदा मनाङ ङिस्याङ गाउँपालिका–९ स्थित तिलिचो बेसक्याम्पबाट फर्कदैँ गरेका पदयात्री । यहाँ हिमपातले पदयात्रामा निस्केका पदयात्रीको जनजीवन प्रभावित भएको छ । तस्बिरः नवीन लामिछाने÷रासस




