Monday, June 8, 2026
Homeराजनीतिदेउसी-भैलो खेल्ने संस्कृतिले एकतालाई प्रगाढ बनाउँछ : राष्ट्रपति

देउसी-भैलो खेल्ने संस्कृतिले एकतालाई प्रगाढ बनाउँछ : राष्ट्रपति

तिहारको शुभकामना सन्देश

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले देउसी–भैलो खेल्ने विशुद्ध नेपाली संस्कृतिले बृहत् सामाजिक एकतालाई प्रगाढ बनाउन मद्दत पुर्‍याउने बताएकी छन्। बिहीबार तिहारको अवसरमा शुभकामना दिँदै उनले चाडपर्वसँग जोडिएका यस प्रकारका राम्रा परम्परा र अभ्यासलाई जगेर्ना गर्नुपर्ने बताइन्।

‘तिहारको अवसरमा देउसी–भैलो खेल्ने विशुद्ध नेपाली संस्कृतिले बृहत् सामाजिक एकतालाई प्रगाढ बनाउन मद्दत पुर्‍याउँदछ।’ जारी शुभकामना सन्देशमा भनिएको छ, ‘देउसी–भैलोको दक्षिणाबाट संकलित रकमबाट विद्यालय, चौतारा, धारा, पाटी‚पौवाको निर्माण तथा मर्मत सम्भार जस्ता सामुदायिक हितका रचनात्मक कार्य गर्ने असल परम्परा समेत तिहार पर्वसँग जोडिएका छन्। हाम्रा चाडपर्वहरूसँग जोडिएका यस प्रकारका राम्रा परम्परा र अभ्यासलाई हामीले जगेर्ना गर्नु पर्दछ भन्ने मलाई लाग्दछ।’

तिहारले नेपालीबीच आपसी सद्‌भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्‍याउने भण्डारीको विश्‍वास छ। झिलिमिली बत्तीको उज्यालोले औंसीको कालो अँध्यारोलाई जित्ने तिहार पर्व एक प्रतिकात्मक उत्सव पनि हो। राष्ट्रपति भण्डारीले  दिपावलीको माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्‍ने कामना गरेकी छन्।

तिहार मनाउने हाम्रो मौलिक सांस्कृतिक परम्पराले प्रकृति¸मानव जीवन र प्राणी जगत्‌को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइ बीचको आपसी स्नेहलाई गाढा बनाउने प्रष्ट पारेकी छन्। कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिनदेखि कार्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार पर्व नेपालीहरूको मौलिक चाडको रूपमा रहेको छ। यम पञ्चकसमेत भनिने तिहार पर्वमा काग‚ कुकुर‚गाई‚गोरू लगायत पशुपंक्षीका साथै धन र ऐश्‍वर्यकी देवी लक्ष्मीको पूजा र दिदीबहिनीद्वारा भाइको पूजा गरिनुका साथै देउसी–भैलो खेल्दै नाचगान र मनोरञ्जन गर्ने परम्परा रहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका