काठमाडौँ – ‘जेनजी’ प्रदर्शनका क्रममा कारागारबाट भागेकामध्ये हालसम्म ६ हजार ९८४ कैदीबन्दी फिर्ता भइसकेका छन्। कारागार व्यवस्थापन विभागका अनुसार अझै ७ हजार ५७२ जना कैदीबन्दी फरार रहेका छन्।
विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार पछिल्ला दुई दिनमा मात्रै ६ सय ५६ जना कैदीबन्दी फर्किएका छन्। उनका भनाइमा कैदीबन्दीहरू दैनिकजसो आफैँ कारागारमा आइरहेका छन्।
गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा कारागारमा तोडफोड र आगजनी भएपछि १४ हजार ५५६ जना कैदीबन्दी फरार भएका थिए। त्यतिबेला १५ हजार ५२५ जना भने नभागी कारागारमै बसेका थिए।
फरार कैदीबन्दीहरूको खोजी कार्य जारी रहेको विभागले जनाएको छ। ती कैदीबन्दीहरू २८ वटा कारागार र ९ वटा सुधारगृहबाट भागेका हुन्। उनीहरूमध्ये केहीलाई प्रहरीले पक्राउ गरी ल्याएको छ भने अधिकांश आफैँ फर्किएका छन्।
बालसुधार गृहबाट मात्रै ९६३ जना भागेका थिए। त्यस्तै, प्रहरी हिरासतमा रहेका २ हजार आरोपीसमेत फरार भएका र खोजी भइरहेको प्रहरीले जनाएको छ। हालसम्म १० जना कैदीबन्दीको मृत्यु भएको पनि विभागले पुष्टि गरेको छ।


