Saturday, November 7, 2026
Homeसामाचारदुई दशकपछि पुनः चल्ने तयारीमा काठमाडौँ–ल्हासा सिधा बस सेवा, नेपाल–चीन सहमति

दुई दशकपछि पुनः चल्ने तयारीमा काठमाडौँ–ल्हासा सिधा बस सेवा, नेपाल–चीन सहमति

काठमाडौँ । दुई देशबीचको पर्यटन र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले करिब दुई दशकअघि सुरु भएको काठमाडौँ–ल्हासा सिधा बस सेवा पुनः सञ्चालनको तयारी अघि बढेको छ। हालै चीनमा सम्पन्न नेपाल–चीन वाणिज्य सचिवस्तरीय बैठकमा उक्त बस सेवालाई पुनर्जीवित गर्ने सहमति जुटेको हो।

माघ ६ र ७ गते (जनवरी २० र २१, २०२६) चीनको सिजाङ स्वायत्त क्षेत्रको राजधानी ल्हासामा सम्पन्न नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्र (नेपाल–चाइना को–अर्डिनेसन मेकानिजम अन बोर्डर ट्रेड एण्ड को–अपरेसन) को तेस्रो वाणिज्य सचिवस्तरीय बैठकमा काठमाडौँ–ल्हासा बस सेवा पुनः सञ्चालन गर्ने विषयमा दुई देशबीच सहमति भएको हो।

बैठकमा द्विपक्षीय व्यापार प्रवर्द्धन, भन्सार सहजीकरण, पूर्वाधार विकासलगायतका विषयमा पनि छलफल तथा सहमति भएको थियो। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव डा. रामप्रसाद घिमिरेले गरेका थिए भने चिनियाँ पक्षको नेतृत्व सिजाङ जनसरकारका उपाध्यक्ष चाओ पेङले गरेका थिए।

नेपाल र चीनबीच यातायात सम्झौता भएको करिब ११ वर्षपछि २०६२ वैशाख १६ गते काठमाडौँ–ल्हासा सिधा बस सेवा औपचारिक रूपमा सञ्चालनमा आएको थियो। दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थप्ने अपेक्षा गरिए पनि यो सेवा १० महिनाभन्दा बढी सञ्चालन हुन सकेन। त्यसयता २०६६ र २०७३ सालमा पनि सेवा पुनः सुरु गर्ने प्रयास भए, तर ती प्रयास कार्यान्वयनमा आउन सकेनन्।

हाल भने बस सेवा पुनः सञ्चालन गर्ने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सकारात्मक रहेको जनाएको छ। मन्त्रालयका सहसचिव तथा विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख इन्जिनियर सुशीलबाबु ढकालले सुरक्षा तथा आवश्यक मापदण्ड पूरा गरी सेवा सञ्चालन गर्न मन्त्रालय तयार रहेको बताएका छन्। उनका अनुसार काठमाडौँ–ल्हासा बस सेवा केवल यातायातको साधन मात्र नभई नेपाल–चीनबीचको कनेक्टिभिटी, पर्यटन र व्यापारका लागि दीर्घकालीन रूपमा महत्वपूर्ण हुनेछ।

यातायात व्यवस्था विभागले पनि आधिकारिक निर्देशन प्राप्त हुनासाथ आवश्यक प्रक्रिया अघि बढाउने तयारी रहेको जनाएको छ। विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार सेवा प्रदायकलाई रुट परमिट दिन विभाग तयार छ। उनका अनुसार यसअघि बस सेवा बन्द हुनुमा प्राविधिक, भू–राजनीतिक, नीतिगत तथा व्यावहारिक कारणहरू मुख्य थिए।

विभागका अनुसार विगतमा पासपोर्ट र भिसा प्रक्रियामा हुने ढिलाइ, सन् २००८ को बेइजिङ ओलम्पिकका कारण बढाइएको सुरक्षा सतर्कता, तिब्बत क्षेत्रको संवेदनशीलता, भौगोलिक कठिनाइ तथा लेक लाग्ने (अल्टिच्युड सिकनेस) जस्ता स्वास्थ्य समस्या बस सेवा बन्द हुनुका प्रमुख कारण बनेका थिए। साथै, जाडोयाममा यात्रुको अभाव हुँदा सेवा ‘सिजनल’ बन्न पुगेको र सेवा प्रदायकहरूलाई आर्थिक भार परेकाले पनि नियमित सञ्चालन सम्भव नभएको विभागको भनाइ छ।

हाल वाणिज्य सचिवस्तरीय बैठकमा सहमति जुटेसँगै विभागमा केही निजी सेवा प्रदायकहरूले प्रस्ताव पेस गरिसकेको जनाइएको छ। आधिकारिक निर्देशन प्राप्त भएलगत्तै रुट परमिट जारी गर्ने र चिनियाँ बसलाई नेपाल प्रवेशको अनुमति दिने तयारी रहेको विभागले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका