काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानको दायरामा रहेका व्यवसायी दीपक भट्टको कम्पनीबाट नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयवीर देउवाको लगानी रहेको कम्पनीमा २ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको खुलेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिहीबार विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उक्त रकम जयवीरको लगानी रहेको स्कालर इन्टरनेशनल र डिजी हट नामक दुई कम्पनीमा गएको उल्लेख गरिएको छ। विभागले यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।
अभियोगपत्रमा दीपक भट्टले कसुरबाट प्राप्त भएको हुनसक्ने रकम ती कम्पनीहरूलाई भुक्तानी गरेको देखिएकाले त्यसतर्फको अनुसन्धानलाई निरन्तरता दिई कानुनबमोजिम कारबाही अघि बढाइने उल्लेख छ।
यसअघि विभागले असार २२ गते जयवीर देउवालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा बयान लिन सात दिनभित्र उपस्थित हुन सूचना जारी गरेको थियो। विभागले बुढानीलकण्ठस्थित उनको निवासमा सूचना टाँस गर्नुका साथै असार २३ गते गोरखापत्रमार्फत सार्वजनिक सूचना प्रकाशित गर्दै तोकिएको म्यादभित्र उपस्थित नभए कानुनबमोजिम प्रक्रिया अघि बढाइने जनाएको थियो।
विभागका अनुसार जयवीर देउवा हालसम्म अनुसन्धानका लागि उपस्थित भएका छैनन्। अनुसन्धान जारी रहेकाले यस विषयमा थप तथ्य खुल्ने अपेक्षा गरिएको छ।


