Thursday, April 30, 2026
Homeसुन्दर नेपालदियालो बङ्गला पर्यटकको आकर्षणको केन्द्र बन्दै, हेर्न आउनेको सङ्ख्यामा वृद्धि

दियालो बङ्गला पर्यटकको आकर्षणको केन्द्र बन्दै, हेर्न आउनेको सङ्ख्यामा वृद्धि

चितवन: बर्सातको समयमा प्रायः सबैतिरका पर्यटकीय गन्तव्य सुनसान हुँदा यहाँको दियालो बङ्गला हेर्न आउनेको सङ्ख्यामा भने वृद्धि हुँदै गएको छ । भरतपुर महानगरपालिकाको व्यवस्थापनमा गत असार २३ गते दियालो बङ्गला सर्वसाधारणका लागि खुल्ला गरिएको हो।

चार दिनसम्म निःशुल्क प्रवेश गराइएको सो बङ्गला अवलोकन गर्न असार २७ गतेदेखि शुल्क तोकिएको छ। भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीका अनुसार असार २७ गतेयता एक सातामा दुई हजार ८६ जनाले दियालो बङ्गला अवलोकन गरेका छन् । प्रवेश शुल्कबापत रु एक लाख ९१ हजार सात सय राजस्व सङ्कलन भएको छ ।

सर्वसाधारण नेपालीलाई प्रवेश शुल्क रु एक सय, ज्येष्ठ नागरिक र विद्यार्थीलाई ५० प्रतिशत छुट गरिएको छ । यस्तै, छिमेकी राष्ट्र भारत र चीनका पर्यटकका लागि रु एक सय ५०, ती बाहेकका सार्क राष्ट्रका पर्यटकका लागि रु दुई सय र अन्य मुलुकका पर्यटकलाई रु तीन सय शुल्क तय गरिएको उपप्रमुख अधिकारीले बताउनुभयो । यहाँ दैनिक घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको उहाँले उल्लेख गर्नुभयो ।

“भरतपुर–१ मा दियालो बङ्गला अवस्थित छ । नेपाल ट्रष्टसँग सम्झौता गरेर व्यवस्थापनको जिम्मेवारी महानगरले लिएको हो । उठेको राजस्वको ६० प्रतिशत ट्रष्ट र ४० प्रतिशत महानगरले पाउने गरी व्यवस्थापन गरिएको हो”, उपप्रमुख अधिकारीले भन्नुभयो ।

महानगर प्रमुख रेनु दाहालले दियालो बङ्गलाको ऐतिहासिक महत्व भएकाले यहाँ घुम्न रुचाउनेको सङ्ख्या दिनानुदिन बढ्दै गएको बताउनुभयो । दरबार क्षेत्रमा बालबालिकाका लागि संरचना नबिग्रने गरी बालउद्यान बनाउने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

जाडो समयमा राजपरिवारले यही दरबारमा आएर समय बिताउने गर्दथे । सिकार खेल्न आउँदा बस्ने ठाउँका रुपमा यसलाई लिने गरिन्छ । ऐतिहासिक महत्व बोकेको दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा पूर्वराजारानी महेन्द्र र वीरेन्द्रको तस्बिर देख्न सकिन्छ । भ¥याङमा २०२६ सालमा राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको जस्ताको तस्तै अवस्थामा राखिएको छ ।

दरबारमा पाँचवटा खोपी (बेडरुम) छन् । १ नं खोपी मुमा रत्नराज्यको हो भने २ नं राजा र ३ नं रानी, ४ र ५ राजपरिवारका अन्य सदस्यका हुन् । सबै खोपीमा शौचालय सँगै जोडिएका छन् । राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको तस्तै छ । दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छभने सँगै राजाको सुरक्षा गार्डका लागि एडिसी क्वाटर छ । केही पर सवारीसाधन राख्न ग्यारेज छ । त्यसको छेउमा रहेको पौडी पोखरीमा अहिले पानी छैन ।

दियालो बङ्गलाले ऐतिहासिक महत्व बोकेकाले विद्यालय र क्याम्पसका विद्यार्थीलाई यहाँ ल्याएर अध्ययन र अवलोकन गराउनुपर्ने महानगर प्रमुख दाहालले बताउनुभयो । लामो समयदेखि नेपाली सेनाको सुरक्षामा रहेको दरबार क्षेत्रभित्र के छ भन्ने कौतुहलता मेट्दै सर्वसाधारणले अवलोकन गर्न सक्ने वातावरण मिलाइएको उहाँले जनाउनुभयो ।

बर्सात सकिएसँगै यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको दाहालले बताउनुभयो । थप पूर्वाधार निर्माणसँगै बालउद्यानसहितको व्यवस्थापनका लागि महानगरले योजना बनाइरहेको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका