दसैँ लागेसँगै सुनचाँदी व्यवसायको केन्द्र मानिने काठमाडौंको न्युरोडस्थित गहना पसलहरूमा भीड लागेको छ । विशेषगरी तीज पर्वका बेला सुनचाँदी खरिद गर्न चाहने महिलाले यसपटक दसैँमा पनि गहना बजारलाई चलायमान बनाएका छन् ।

प्रवासी श्रमिकहरूले दसैँकै बेला बढी रेमिट्यान्स (विप्रेषण) पठाउँछन् । व्यापार–व्यवसायमा लागेकाहरूले पनि चाडपर्वकै छेकोमा रकम संकलनलाई प्राथमिकता दिन्छन् ।
यसरी संकलन हुने रकम दसैँ किनमेलमा निकै खर्च हुन्छ । यसैको प्रभाव सुनचाँदी खरिदबिक्रीमा देखिएको हो । गहना बिक्रेताहरूका अनुसार अहिले बजारमा तीजलाई नै बिर्साउनेगरी ग्राहकको भीड लागिरहेको छ ।
सुनको भाउ ४०० रुपैयाँले घट्दा बुधबार बजारमा ग्राहकहरू झनै झुम्मिएका थिए । बिहीबार नेपाल सुनचाँँदी व्यवसायी महासंघले बजारमा छापावाल सुनको भाउ ८९ हजार ९०० रुपैयाँ तोकेको थियो ।


