सोल: दक्षिण कोरियामा एक पुरुषलाई अनिवार्य सैन्य सेवा छल्नको लागि मोटोपनाको रणनीति अपनाएको आरोपमा जेल सजाय सुनाइएको छ। ती व्यक्तिलाई सोलको अदालतले नोभेम्बर १३ मा देशको सैन्य सेवा ऐन उल्लङ्घन गरेको ठहर गर्दै एक वर्षको जेल सजाय तोकेको हो।
समाचारका अनुसार, ती पुरुषले सेनामा कार्यरत रहँदा आफ्नो तौल १०२ किलोसम्म पुर्याएका थिए। गत वर्ष जुन महिनामा, यो तौलका कारण उनलाई सक्रिय ड्युटीबाट हटाइएको थियो। तर, ६ वर्षअघि, प्रारम्भिक शारीरिक परीक्षामा उनी योग्य प्रमाणित भएका थिए।
न्यायाधीशको फैसलामा उल्लेख गरिएअनुसार, ती पुरुषले जानाजानी उच्च क्यालोरीयुक्त खाना खाएका, शारीरिक परिश्रम पर्न सक्ने काम गर्न अस्वीकार गरेका र तौल नाप्नु अघि धेरै मात्रामा पानी पिउनेजस्ता चालबाजी अपनाएका थिए।
यस्ता युक्तिहरू सुझाउने अर्को व्यक्तिलाई पनि ६ महिनाको जेल सजाय सुनाइएको छ। दक्षिण कोरियामा कोरियाली युद्धपछिका दिनदेखि नै २८ वर्षको उमेर नपुग्दासम्म सबै सक्षम पुरुषलाई अनिवार्य रूपमा कम्तीमा १८ महिना सेनामा सेवा गर्नुपर्ने व्यवस्था छ।


