बैंकक: प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको आफ्नो पहिलो औपचारिक भ्रमण ऐतिहासिक रहेको बताउँदै बिम्स्टेकको छैटौँ शिखर सम्मेलन सफल भएको उल्लेख गरेका छन्।
बैंककमा रहेका प्रधानमन्त्री ओलीले स्वदेश फर्कनु एक दिनअघि, प्रिदीबानोमयाङस्थित नेपाली राजदूतावासको अवलोकन गर्दै भ्रमण फलदायी भएको बताए।
नेपाल र थाइल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६६ वर्षमा नेपालका प्रधानमन्त्रीले गरेको यो पहिलो भ्रमण हो। ओलीले द्विपक्षीय भेटवार्ताले दुई मुलुकबीचको सम्बन्ध थप मजबुत बनाएको बताए।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री पेथोङथान शिनावात्रालाई नेपालको औपचारिक भ्रमणको निमन्त्रणा दिए। साथै, संस्कृति, पर्यटनसहित आठ विषयमा सम्झौतामा हस्ताक्षर भएको जानकारी गराए।
प्रधानमन्त्री ओलीले आफ्नै जग्गामा नेपाली राजदूतावास सञ्चालन भएकामा खुसी व्यक्त गर्दै थप पूर्वाधार विकास आवश्यक रहेको औँल्याए। भ्रमण दलका सदस्यहरूले पनि दूतावास अवलोकन गरे।
थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीले दूतावासको नयाँ भवन निर्माण आवश्यक रहेको र थप जग्गा विस्तार गर्नुपर्ने जानकारी गराएका थिए।
आज साँझ दूतावासले प्रधानमन्त्री ओलीको सम्मानमा स्वागत समारोह आयोजना गर्यो, जहाँ भ्रमण दलका सदस्यहरू तथा नेपाली समुदायका प्रतिनिधिहरू सहभागी भए।
शिखर सम्मेलनले व्यापार विस्तार, सम्पर्क सञ्जाल र मानवीय सुरक्षालाई प्राथमिकता दिँदै **”बिम्स्टेक बैंकक भिजन”**सहित छबुँदे प्रस्ताव पारित गरेको थियो।


