कास्की । त्रिशूली तथा नारायणी नदी किनारमा फेला परेका १०२ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको छ।
भोटेकोशीमा आएको बाढीपछि बेपत्ताको खोजीका क्रममा सुरक्षाकर्मी र स्थानीयवासीले धादिङ, गोरखा, तनहुँ र पूर्वी नवलपरासीलगायत जिल्लामा शव फेला पारेका थिए। ती जिल्लामा शवको व्यवस्थापन तथा परीक्षणका लागि पर्याप्त व्यवस्था नभएपछि पोखरा ल्याइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए।
उनका अनुसार बिहीबार राति पूर्वी नवलपरासीबाट ४१, तनहुँबाट २३, गोरखाबाट ११ र धादिङबाट २७ शव पोखरा ल्याइएको हो। ती शवको व्यवस्थापन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको छ।
तनहुँका विभिन्न स्थानमा भेटिएका नौ शव भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणपछि मणिपाल शिक्षण अस्पताल पठाइएको बरालले बताए।
पोखराका सरकारी तथा निजी अस्पतालमा गरी हाल ८८ शव व्यवस्थापन गर्न सकिने क्षमता रहेको प्रशासनले जनाएको छ।
शवहरूको परीक्षण गरी पहिचान खुलाउन स्थानीय प्रशासनले सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको छ। पहिचान खुलेपछि सम्बन्धित परिवारलाई शव बुझाउने प्रक्रिया अघि बढाइनेछ।


