काठमाडौँ। काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका मुगुको सोरु गाउँपालिका–६ निवासी २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ।
प्रहरीका अनुसार बिहीबार राहदानी विभागको गेट नम्बर ३ अगाडि पार्किङको विषयलाई लिएर काठमाडौँ महानगरपालिकाका नगर प्रहरीसँग उनको विवाद भएको थियो। विवादपछि उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएका थिए।
घटनामा संलग्न रहेको भनिएका दुई महिला र एक पुरुष गरी तीन जना नगर प्रहरीलाई अनुसन्धानका लागि प्रहरी वृत्त कालिमाटीले बोलाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी पवन भट्टराईका अनुसार उनीहरूलाई घटनाबारे विवरण लिन र आवश्यक सोधपुछ गर्न उपस्थित गराइएको हो।
प्रहरी स्रोतका अनुसार गणेश राइड सेयरिङ सेवामार्फत यात्रु बोकेर आएका थिए। उनले चलाएको बा.प्र.०२–०६४ प ३२५० नम्बरको पल्सर मोटरसाइकल पार्किङ निषेधित क्षेत्रमा राखिएको भन्दै नगर प्रहरीले ‘ह्वील लक’ लगाएको थियो।
त्यसपछि गणेशले आफूले मोटरसाइकल सडकभन्दा बाहिरको उचाइ भएको स्थानमा राख्दा पनि किन ‘ह्वील लक’ लगाइएको भन्दै आपत्ति जनाएका थिए। उनले अन्य सवारीसाधनमा कारबाही नगरी आफ्नो मोटरसाइकलमा मात्र ‘ह्वील लक’ लगाइएको भन्दै नगर प्रहरीसँग प्रश्न गरेका थिए। घटनापछि भएको विवाद उत्कर्षमा पुग्दा उनले आत्मदाहको प्रयास गरेका थिए।
प्रहरीले घटनाको कारण, विवादको प्रकृति र त्यसअघि भएका सबै गतिविधिबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।


