काठमाडौँ, २४ साउनः तुर्कमेनिस्तानमा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा नेपालले आपसी सहयोग र साझेदारी विस्तारमा जोड दिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डल आज स्वदेश फर्केपछि परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालसहितका भूपरिवेष्ठित मुलुकलाई विकास साझेदारहरूले थप सहयोग गर्नुपर्नेमा आवाज उठाइएको जानकारी दिइयो।
परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्री ओलीले सम्मेलनमा भूपरिवेष्ठित मुलुकलाई भूजडित, पारवहन निर्भरबाट व्यापार प्रतिष्पर्धी र जलवायु संकटापन्नबाट जलवायु प्रतिरोधी मुलुकका रूपमा रूपान्तरण गर्ने लक्ष्यसहितको ‘आवाजा कार्यक्रम’लाई ऐतिहासिक अवसरका रूपमा प्रस्तुत गर्नुभएको थियो।
उहाँका अनुसार प्रधानमन्त्री ओलीले स्मार्ट पूर्वाधार निर्माण, राजमार्ग र रेलवे विस्तार, व्यापारिक मार्ग निर्माण, हरित ऊर्जा र कोरिडोर विकासमार्फत सीमापार सम्पर्क विस्तारमा नेपालले गरिरहेको प्रयासबारे स्पष्ट पार्दै छिमेकी मुलुक, विकास साझेदार र दातृ निकायलाई नेपालको विकास यात्रामा थप सहयोगका लागि आह्वान गर्नुभएको थियो।


