चितवन, ४ असोज: नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेर यातायात अवरुद्ध भएको छ । शुक्रबार साँझ करिब ६ बजेबाट लगातार खसिरहेको पहिरोले करिब १०० मिटर सडक पुरिएको डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार झण्डै १०० मिटर माथिबाट पटक–पटक पहिरो खस्दा रातभर सडक ढाकिएको थियो । निरन्तर ढुङ्गा र माटो झरिरहेकाले राति सडक सफा गर्न सम्भव नभएकाले बिहान उज्यालो भएपछि मात्रै पन्छाउने काम सुरु गरिएको हो ।
दुवैतर्फबाट एक एक वटा लोडर परिचालन गरिएको छ भने नारायणगढतर्फ सेती दोभान क्याम्पमा रहेको स्काभेटर पनि पठाइएको लामिछानेले बताउनुभयो ।“यदि थप ठूलो पहिरो नखसेमा करिब चार घण्टाभित्र सडक खुलाउन सकिने अनुमान छ,” उहाँले भन्नुभयो ।
शुक्रबार दिउँसो समेत पटक–पटक पहिरो खसेर सडक सफा गरिएको भए पनि साँझ ६ बजेदेखि पुनः अवरुद्ध बनेको थियो । सडक अवरुद्ध भएपछि यात्रुहरू रातभर बाटोमै अलपत्र परेका छन् । पहिरो खसेको स्थान मुग्लिनबाट २ दशमलव ५ किलोमिटर नारायणगढतर्फ पर्छ ।


