काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन दिनका लागि लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने–बाहिरिने सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।
शनिबार जारी सूचनामा प्राधिकरणले असोज १८, १९ र २० गतेका लागि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका सवारीसाधन तथा काठमाडौं उपत्यका भित्रिने–बाहिरिने यातायात सेवा बन्द गरिएको जानकारी दिएको छ ।
भारी वर्षा र अति भारी वर्षाबाट उत्पन्न हुन सक्ने बाढी, पहिरो र डुबानजस्ता सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न सवारीसाधन आवतजावत बन्द गरिएको प्राधिकरणले जनाएको छ ।
‘उक्त अवधिमा यातायात व्यवसायी तथा सरोकारवालाले अत्यावश्यकबाहेकका लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने–बाहिरिने सवारीसाधन नचलाउन, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले सवारीसाधन सञ्चालन रोक्न तथा निगरानी गर्न अनुरोध गरिन्छ,’ सूचनामा उल्लेख छ ।
प्राधिकरणले असुविधाप्रति क्षमाप्रार्थी हुँदै सो अवधिमा अत्यावश्यकबाहेक यात्रा नगर्न, सुरक्षित रूपमा घरमै बस्न र विपद् सम्बन्धी आधिकारिक तथा अद्यावधिक जानकारी रेडियो, टेलिभिजन, अनलाइन माध्यम र सामाजिक सञ्जालमार्फत प्राप्त गर्न आग्रह गरेको छ ।



