Sunday, November 8, 2026
Homeसामाचारतीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

म्याग्दी, २८ असार: म्याग्दी जिल्लाका चार स्थानमा कुल रु तीन करोड ६५ लाखको लागतमा नदी नियन्त्रण योजना सम्पन्न गरिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना पोखराले बाढी र नदी कटानबाट हुने जोखिम न्यूनीकरण गर्न तटबन्ध र कम्पोजिट पर्खाल निर्माण गरेको हो। आयोजना इञ्जिनियर नरजङ गुरुङका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा दरवाङ, तातोपानी, सिंगा र लामगरामा योजनाहरू कार्यान्वयन भएका हुन्।

सिंगा तातोपानीमा सुदृढ पर्खाल

बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारस्थित सरस्वती माविको पछाडि म्याग्दी नदी किनारमा ६६ मिटर लामो, चार मिटर चौडाइ भएको र तीन मिटर अग्लो कङ्क्रिट पर्खाल तथा त्यसको माथिल्लो भागमा ग्यावियन पर्खाल निर्माण गरिएको छ। कुल रु दुई करोड ७० लाख लागत अनुमान गरिएको यस योजनाको काम रु एक करोड ५५ लाखमा ठेक्का सम्झौता गरिएको साहाना–बिआरटी जेभीले बर्खाअघि नै सम्पन्न गरेको हो।

अन्य स्थानमा पनि संरचना निर्माण

मालिका गाउँपालिका केन्द्र दरवाङमा २६ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल निर्माण गरिएको छ। यस्तै, बेनी–४ सिंगा र वडा नं १ लामगरास्थित कालीगण्डकी नदी किनारमा क्रमशः १५०–१५० मिटर लामो ग्यावियन पर्खाल निर्माण गरिएको छ। दरवाङ, सिंगा र लामगराको योजनाहरू उपभोक्ता समितिमार्फत रु ७०/७० लाखको लागतमा कार्यान्वयन गरिएको हो।

लामगरामा निर्माण भएको ग्यावियन पर्खालको तारजालीमा खिया नलागोस् भनेर बाहिरी भागमा ‘ज्याकेटिङ’ प्लास्टर गरिएको छ। उपभोक्ता समितिका अध्यक्ष कमल थापाका अनुसार तटबन्ध निर्माणपछि बस्ती, खेतीयोग्य जमिन र रत्नेचौर लिफ्ट खानेपानी योजनाको इनार सुरक्षित भएको छ।

भविष्यका योजना तथा ठेक्का सम्झौता

यस आर्थिक वर्षमा थप चार स्थानमा नदी नियन्त्रणका लागि रु नौ करोड ७५ लाख बराबरका योजनाहरूका लागि विभिन्न निर्माण कम्पनीहरूसँग ठेक्का सम्झौता गरिएको छ।

सिंगा तातोपानी बजार संरक्षण : १०२ मिटर कम्पोजिट पर्खाल निर्माणका लागि आरआरसी जेभीसँग रु दुई करोड ७१ लाखको सम्झौता

दरवाङ बसपार्क क्षेत्र : १६५ मिटर पर्खाल निर्माणका लागि रुपल–सुप्रिमसँग रु चार करोड २१ लाख ५९ हजारको सम्झौता

रघुगङ्गा–३, गायत्री मन्दिर क्षेत्र : ५० मिटर पर्खाल निर्माणका लागि गुरुङ बाजे मण्डली जेभीसँग रु ७४ लाखको सम्झौता

कालीपुल पारी बगरफाँट (कालीगण्डकी नदी किनार) : ८० मिटर कङ्क्रिट पर्खाल निर्माणका लागि साहाना–गोपी जेभीसँग रु दुई करोड नौ लाख ५९ हजारको ठेक्का सम्झौता

आयोजना प्रमुख बिदुरमान श्रेष्ठले ठेक्का सम्झौता भइसकेका सबै योजनाहरू आगामी आर्थिक वर्षमा सम्पन्न गरिने जानकारी दिएका छन्। बेनी र वरपरका क्षेत्रहरूमा नदी नियन्त्रण योजना तीव्र रूपमा अघि बढेपछि तटीय क्षेत्रका बासिन्दाहरू सुरक्षित महसुस गर्न थालेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका