Saturday, November 7, 2026
Homeसामाचारतिहारमा विद्युत् आपूर्ति सुनिश्चित गर्न मन्त्री घिसिङको स्यूचाटार प्रेषण केन्द्र निरीक्षण

तिहारमा विद्युत् आपूर्ति सुनिश्चित गर्न मन्त्री घिसिङको स्यूचाटार प्रेषण केन्द्र निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले लक्ष्मीपूजासहित तिहारका विशेष दिनहरूमा विद्युत् आपूर्ति र माग व्यवस्थापनको स्थिति बारे जानकारी लिएका छन्।

सोमबार साँझ नेपाल विद्युत् प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको निरीक्षणका क्रममा मन्त्री घिसिङसँग ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौत, विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल, मन्त्रालयका सहसचिवहरू, विद्युत् विकास विभागका महानिर्देशक, प्राधिकरणका कार्यकारी निर्देशक र उपकार्यकारी निर्देशकहरू सहभागी थिए। टोलीले मुलुकभरको विद्युत् आपूर्ति अवस्थाबारे विस्तृत जानकारी लिएको थियो।

मन्त्री घिसिङले विगतका वर्षझैं यस वर्ष पनि लक्ष्मीपूजाको दिन मुलुकभर विनाअवरोध विद्युत् आपूर्ति हुने विश्वास व्यक्त गरेका छन्। प्राधिकरणले विद्युत् आपूर्तिमा कुनै अवरोध नआओस् भनेर देशभरका वितरण केन्द्रका प्रमुख र प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको जनाएको छ।

स्मरणीय छ, २०७३ सालको भदौमा कार्यकारी निर्देशकमा नियुक्त भएपछि कुलमान घिसिङको नेतृत्वमा विद्युत् आपूर्ति व्यवस्थापनमा ऐतिहासिक सुधार भएको थियो। सोही वर्षको लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यकाबाट लोडसेडिङ अन्त्यको सुरुवात गरिएको थियो, जसले देशभर विद्युत् आपूर्तिको नयाँ युगको शुरुवात गरेको मानिन्छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका