काठमाडौँ । तिहार पर्वको अवसरमा पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालनमा रहने भएको छ।
नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै कात्तिक ३, ४, ५ र ७ गते सार्वजनिक बिदाका दिनमा समेत सो प्रणाली बिहान १० बजेबाट अपराह्न ४ बजेसम्म सञ्चालनमा रहने जनाएको छ। भाइटिकाको दिन भने आरटीजीएस सेवा बन्द रहनेछ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका अनुसार यो व्यवस्था मार्फत महत्वपूर्ण वित्तीय कारोबार, सरकारी भुक्तानी र अन्य आवश्यक लेनदेनमा सहजता ल्याउने उद्देश्य राखिएको छ।
केन्द्रीय बैंकले यसअघि भन्सार जाँचपासका प्रयोजनका लागि आवश्यक बैंकिङ सेवा निरन्तर सञ्चालनमा राख्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेको थियो। तिहारको भाइटिकाको दिन बाहेक अन्य सबै दिनमा भन्सार जाँचपासका लागि आवश्यक बैंकिङ सेवा सुचारु रहन क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई व्यवस्था मिलाउन भनिएको छ।


