काठमाडौं, माघ ३– हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव देखिएको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा तुँवालो लागेको छ भने पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम प्रायः सफा रहनेछ।
यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज राति पनि तराई भू–भागका केही स्थानमा हुस्सु लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।


