काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा कमजोर पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ। यसको असरका कारण तराईका भूभाग तथा उपत्यकाहरूमा तुँवालो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्ने सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। तराईका भूभागमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ।
यस्तै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि तराईका केही स्थानमा तुँवालो लाग्ने अनुमान गरिएको छ। साथै, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने र कोशी, गण्डकी तथा कर्णाली प्रदेशका उच्च हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।


