तनहुँ । तनहुँको व्यास नगरपालिका–१२, छिरकनेमा ठूलो पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार गएराति करिब १० बजे पहिरो खसेपछि सडकमा सवारी आवागमन ठप्प भएको हो ।
पहिरो खसेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको कमाण्डमा ट्राफिक प्रहरीसहित १५ जनाको टोली घटनास्थलमा पुगेको थियो । प्रहरी चौकी डुम्रेबाट थप पाँच जना प्रहरीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ ।
सडकमा ठूलो मात्रामा ढुंगा, माटो तथा लेदो खसेकाले पृथ्वी राजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन र यात्रु प्रभावित भएका छन् । राजमार्ग अवरुद्ध भएपछि लामो दूरीका सवारीसाधनसमेत बीच बाटोमै रोकिएका छन् ।
प्रहरी तथा सम्बन्धित निकायले रातिदेखि नै पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन् । पहिरो हटाउने काम जारी रहेकाले यात्रु तथा सवारी चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।


