Wednesday, May 6, 2026
Homeराजनीति“डोलप्रसाद अर्याल निर्विरोध सभामुख: वैकल्पिक राजनीतिबाट संसद्को नेतृत्वसम्म”

“डोलप्रसाद अर्याल निर्विरोध सभामुख: वैकल्पिक राजनीतिबाट संसद्को नेतृत्वसम्म”

काठमाडौँ । धादिङको ज्वालामुखी गाउँपालिकामा २०३१ साल भदौ ६ गते जन्मिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्याल प्रतिनिधिसभाको दसौँ सभामुखमा निर्विरोध निर्वाचित भएका छन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी काठमाडौँ क्षेत्र नं. ९ बाट निर्वाचित भएका थिए। निरन्तर सङ्घर्षमार्फत वैकल्पिक राजनीतिक यात्रामा अघि बढेका अर्यालले यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।

अर्यालले जापानलगायत विभिन्न देशमा अध्ययन, अनुसन्धान, रोजगारी तथा व्यवसाय सञ्चालनको अनुभव हासिल गरेका छन्। स्वदेशमै केही गर्न सकिन्छ भन्ने विश्वासका साथ उनी विगत २५ वर्षदेखि पर्यटन, शिक्षा र वित्तीय क्षेत्रमा सक्रिय रहँदै आएका छन्।

व्यवसाय र राजनीतिलाई सँगसँगै अघि बढाएका अर्यालले २०७९ सालमा राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनी सो पार्टीका संस्थापक उपाध्यक्ष हुन्।

संसद्को अघिल्लो कार्यकालमा श्रममन्त्रीका रूपमा रहँदा उनले श्रमिक अधिकार संरक्षण, वैदेशिक रोजगारी प्रणालीमा सुधार तथा सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेखनीय योगदान दिएका थिए।

प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याललाई सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए। नवनिर्वाचित सभामुख अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।

अन्य दलबाट उम्मेदवारी नपरेपछि अर्याल निर्विरोध निर्वाचित भएका हुन्। २७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२ सांसद रहेका छन्।

संसद्को नेतृत्व सम्हालेका अर्यालका लागि कानुन निर्माण, सरकारका गतिविधिमाथि निगरानी, राजनीतिक ध्रुवीकरण घटाउने र दलहरूबीच सहमति कायम गर्दै संसद् सञ्चालन गर्नु चुनौतीपूर्ण रहने देखिन्छ। विधेयक तथा प्रस्तावको समयमै व्यवस्थापन, सांसदहरूको सक्रियता सुनिश्चित गर्नु र नियमावलीको पालन गराउनु पनि उनको प्रमुख दायित्व हुनेछ। निष्पक्षता कायम राख्दै जनअपेक्षालाई सम्बोधन गर्नु उनको मुख्य परीक्षा रहनेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका