Monday, June 22, 2026
Homeसामाचारठेक्का सम्झौता भएको नौ वर्षपछि दोदा नदीको पुल निर्माणले गति लिँदै

ठेक्का सम्झौता भएको नौ वर्षपछि दोदा नदीको पुल निर्माणले गति लिँदै

कञ्चनपुर: देखतभूली–पर्सिया सडकखण्डअन्तर्गत दोदा नदीमा पक्की पुल निर्माणकार्यले तीव्रता पाएको छ। नौ वर्षअघि ठेक्का सम्झौता भए पनि विभिन्न समस्याका कारण रोकिएको पुल निर्माण कार्य अहिले अघि बढेको हो।

विसं २०७२ पुस २६ गते रू २४ करोड २२ लाख ५७ हजारमा लुम्बिनी–राजेन्द्र–कुमार–श्रेष्ठ जेभीसँग ठेक्का सम्झौता गरिएको थियो। तर, निर्माण व्यवसायीले काम गर्न नसक्दा तीनवटा पिलर मात्र खडा गरियो। ‘पाइल टेष्ट’ असफल भएपछि काम अघि बढ्न नसकेको महेन्द्रनगर सडक डिभिजन कार्यालयका सूचना अधिकारी हरिशप्रसाद जोशीले जानकारी दिनुभयो। “त्यो अवस्थाबाट निर्माण अघि बढाउन सकिने अवस्था थिएन,” उहाँले बताउनुभयो, “पुलको डिजाइन पुनरावलोकन गरेर निर्माण अघि बढाइएको हो।”

लागत नबढ्ने गरी पिलरको ‘डायमिटर’ ८० सेन्टिमिटरबाट एक सय २० सेन्टिमिटर पुर्‍याएर काम अघि बढाइएको छ। हाल पुलको भौतिक प्रगति ५० प्रतिशत पुगेको छ। २११ मिटर लम्बाइ र ११ मिटर चौडाइ भएको यो पुल विसं २०८२ माघ २० गतेसम्म पूरा गर्ने लक्ष्य राखिएको छ।

जेभीमा आबद्ध राजेन्द्र निर्माण सेवाले काम गर्न नसकेपछि कुमार श्रेष्ठले जिम्मेवारी सम्हालेका छन्। पहिलो निर्माणको भुक्तानीमा खर्च गरिएको १२ करोड बैंक धरौटीबाट असुल गरिएको छ। हालसम्म १० करोड रुपैयाँ बराबरको काम सम्पन्न भएको र पहिलो ‘रनिङ बिल’को भुक्तानीका लागि बजेट अभावका कारण ढिलाइ भइरहेको जोशीले बताउनुभयो।

लालझाडी गाउँपालिका र शुक्लाफाँटा नगरपालिकाका बासिन्दाले हिउँदमा अस्थायी काठको पुल प्रयोग गर्दै शुल्क तिरेर नदी तर्ने गरेका थिए। वर्षात्का बेला जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता थियो। पुल निर्माणले तीव्रता पाएपछि अब यस्तो अवस्था अन्त्य हुने शुक्लाफाँटा नगरपालिका–१२ का वडाध्यक्ष नवलसिंह रानाले बताउनुभयो। “पहिले काम अलपत्र परेपछि हामीले पुल बन्ने आशै मारेका थियौँ,” उहाँले भन्नुभयो, “तर अहिले निर्माण कार्य दु्रत गतिमा अघि बढेकाले विश्वास पलाएको छ।”

शिक्षक गेंदुराम रानाका अनुसार पुल निर्माणपछि वर्षात्का बेला नदीमा बाढी आउँदा लालझाडी गाउँपालिकाका बासिन्दाको सदरमुकामसँगको सम्पर्क विच्छेद हुने समस्या पनि सदाका लागि अन्त्य हुनेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका