गलकोट (बागलुङ): बागलुङ बजारदेखि सिगाना जोड्ने सडक २४ वर्षपछि स्तरोन्नतिको प्रक्रियामा पुगेको छ। विसं २०५४ मा निर्माण थालिएको सडकको हाल स्तरोन्नति कार्य तीव्र रूपमा अघि बढिरहेको छ। बागलुङ बजारदेखि काठेखोला खण्डसम्म कालोपत्र भइसकेको छ भने गोखोला हुँदै सिगानासम्मको सडक ग्राभेल गरिएको छ, जसलाई अब कालोपत्र गरिने चरणमा पु¥याइएको छ।
सडक निर्माणको सुरुआत विसं २०५४ मा बागलुङ बजारदेखि सिगानासम्म रु तीन लाख बजेटमा भएको थियो। सडक खुलेको २४ वर्षपछि स्तरोन्नति कार्य प्रारम्भ भएकोमा तत्कालीन गाविस अध्यक्ष टोपबहादुर खड्काले खुसी व्यक्त गर्नुभएको छ। एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक योजनाअन्तर्गत घुम्ती सडक ढलान, ग्राभेल तथा कालोपत्रे कार्य भइरहेको छ, जसका कारण सिगानाको यात्रा सहज र सुरक्षित भएको छ।
बागलुङ बजारदेखि बोक्सेसम्मको सडक दुई वर्षअघि नै कालोपत्र सम्पन्न भएको थियो। हाल बोक्सेदेखि सिगानासम्मको आठ किलोमिटर सडक ग्राभेल भइसकेपछि ट्याक्सी, बस र अटोरिक्सा सञ्चालनमा आएका छन्। नियमित रूपमा स्कुल बस सिगानासम्म पुग्न थालेका छन् भने आन्तरिक पर्यटकले ट्याक्सी तथा अटोरिक्सा प्रयोग गर्न थालेका छन्।
पहिले काठेखोलामा पुल नहुँदा बर्खाका समयमा यातायात सञ्चालनमा कठिनाइ थियो, जसका कारण सामग्री ढुवानीका लागि खच्चडको भर पर्नु पर्ने अवस्था थियो। बागलुङ सदरमुकामदेखि सिगानाको बौडेचौर पुग्न दुई घण्टाभन्दा बढी समय लाग्ने गर्थ्यो भने वडा कार्यालयसम्म पुग्न एक घण्टा लाग्थ्यो। सडक स्तरोन्नतिपछि सो दूरी १५ मिनेटमै पार गर्न सकिने भएको छ।
सिगानामा रु २९ करोड लागतमा आठ किलोमिटर सडक कालोपत्रे र ढलान गर्ने लक्ष्यसहित ३२ महिनाका लागि ठेक्का सम्झौता भएको छ। निर्माण कार्यको जिम्मेवारी पाएको कर्ण बिल्डर्सका साइट इञ्चार्ज सन्दीप श्रेष्ठका अनुसार फागुनसम्म छ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्यसहित काम भइरहेको छ।
बागलुङ क्षेत्र नं. १ अन्तर्गत बागलुङ बजार, अदालत चौपारी, सिगाना, चापाखर्क, गाजाको दह हुँदै बरेङ शान्तिपुरसम्म जोड्ने ३० किलोमिटर सडक आयोजना अन्तर्गत पहिलो चरणमा १० किलोमिटर सडक स्तरोन्नतिको अन्तिम चरणमा पुगेको छ। दोस्रो चरणमा थप १० किलोमिटर सडकको ठेक्का प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ।


