काठमाडौँ, ३० असोज — काठमाडौँ उपत्यकामा सवारीसाधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण गर्न उपत्यका ट्राफिक प्रहरीले विशेष अभियान सुरु गरेको छ। चर्को आवाजमा हर्न बजाउने तथा मोटरसाइकलमा गैरकानुनी रूपमा परिमार्जन गरिएको साइलेन्सर प्रयोग गरी उत्पन्न हुने ध्वनि प्रदूषणमाथि कडाइका साथ कारबाही गर्न अभियान सुरु गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
उक्त कार्यालयका अनुसार पछिल्ला केही दिनयता काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा स्वरूप परिवर्तन गरी ध्वनि निकाल्ने कम्तीमा दुई सयभन्दा बढी मोटरसाइकल नियन्त्रणमा लिइएका छन्।
भारी आवाज निकाल्ने ती मोटरसाइकललाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “ध्वनि प्रदूषणले सबैको जीवनशैलीमा प्रत्यक्ष असर पारिरहेको छ। मोटरसाइकलबाट आउने चर्को आवाजका कारण राति निद्रा नलाग्ने, तनाव बढ्ने र समाजमा त्रासको वातावरण सिर्जना हुने अवस्था देखिएको छ। रमाइलोको नाममा अरूलाई पीडा दिने प्रवृत्तिविरुद्ध अब कडा निगरानी गरिनेछ।”
सवारी तथा यातायात व्यवस्था ऐनले कम्पनीले तोकेको मापदण्डअनुसार मात्र सवारी सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको भए पनि पछिल्लो समय धेरै मोटरसाइकल चालकले नियम उल्लङ्घन गर्दै मनपरी साइलेन्सर पाइप परिवर्तन गरी चर्को आवाज निकाल्दै चलाउने गरेका कारण कडाइ गर्नुपरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो।


