Sunday, July 19, 2026
Homeअन्तराष्ट्रियट्रम्प–मोदी फोनवार्तापछि अमेरिका–भारत व्यापार सम्झौता, भारतीय सामानमा ट्यारिफ १८ प्रतिशतमा झारियो

ट्रम्प–मोदी फोनवार्तापछि अमेरिका–भारत व्यापार सम्झौता, भारतीय सामानमा ट्यारिफ १८ प्रतिशतमा झारियो

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएपछि अमेरिका र भारतबीच महत्त्वपूर्ण व्यापारिक सम्झौता भएको छ। राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत भारतसँग व्यापार सम्झौता भएको घोषणा गर्दै भारतीय सामानमा लगाइँदै आएको कर (ट्यारिफ) २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारिने जानकारी दिएका छन्।

सम्झौताअनुसार भारतले रुसी तेल खरिद बन्द गर्ने निर्णय लिएको छ। ट्रम्पका अनुसार प्रधानमन्त्री मोदीले रुसी तेलको सट्टा अमेरिकासँग बढी तेल खरिद गर्न तथा सम्भावित रूपमा भेनेजुएलाबाट पनि तेल आयात गर्न सहमति जनाएका छन्। यससँगै रुसी तेल खरिदको कारण भारतमाथि लगाइएको अतिरिक्त २५ प्रतिशत जरिवाना कर हटाइनेछ।

५०० अर्ब डलरभन्दा बढी अमेरिकी सामान खरिद गर्ने प्रतिबद्धता

सम्झौताअनुसार भारतले अमेरिकाबाट ऊर्जा, प्रविधि, कृषि, कोइला लगायतका क्षेत्रमा ५०० अर्ब डलरभन्दा बढी मूल्यका सामान खरिद गर्ने प्रतिबद्धता जनाएको छ। साथै, भारतले आफ्ना व्यापारिक अवरोधहरू हटाउँदै शून्यमा झार्ने आश्वासन दिएको ट्रम्पले बताएका छन्।

गत अगस्टमा ट्रम्प प्रशासनले भारतीय सामानमा ५० प्रतिशतसम्म कर वृद्धि गरेपछि दुई देशबीचको व्यापारिक सम्बन्ध तनावपूर्ण बनेको थियो। सोही पृष्ठभूमिमा भारतले युरोपेली युनियनसँग पनि हालै व्यापारिक सम्झौता गरेको थियो। अहिले अमेरिकासँग भएको यो नयाँ सहमतिले दक्षिण एसियाली बजारमा अमेरिकाको प्रभाव पुनः मजबुत हुने विश्लेषण गरिएको छ।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिँदै यो सम्झौताले दुवै देशका जनताका लागि अवसर र आर्थिक लाभ ल्याउने विश्वास व्यक्त गरेका छन्। उनले १ अर्ब ४० करोड भारतीय जनताका तर्फबाट यो घोषणालाई स्वागत गरेका छन्।

यद्यपि, अमेरिकाभित्र साना व्यवसायीहरूको समूहले यस सम्झौताप्रति आलोचना जनाएको छ। उनीहरूका अनुसार ट्रम्पको नीति अघि भारतबाट आयात हुने सामानमा औसत २.५ प्रतिशत मात्र कर थियो र हाल १८ प्रतिशत कायम हुनु दीर्घकालीन कर वृद्धिकै रूपमा रहेको उनीहरूको दाबी छ। यता, सम्झौता घोषणापछि अमेरिकी शेयर बजारमा भने सकारात्मक प्रभाव देखिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका