विराटनगर । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आफ्नो निर्वाचन क्षेत्र झापा–५ अन्तर्गत कमल गाउँपालिका–१ को सरङपाडा बजारको भ्रमण गरेका छन्। भ्रमणका क्रममा उनले स्थानीय बासिन्दा तथा कार्यकर्तासँग छलफल गर्नुका साथै बजार क्षेत्रको अवलोकन गरेका थिए।
तरकारी बजार पुगेका ओलीसँग भेटका क्रममा केही युवा तथा विद्यार्थीले रोजगारीको माग गरेका थिए। युवाहरूले रोजगार अवसर आवश्यक रहेको बताउँदा ओलीले उद्योग स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। तर स्थानीय ज्येष्ठ नागरिक तिलकबहादुर पोखरेलले उक्त प्रतिबद्धताप्रति असन्तुष्टि व्यक्त गर्दै लामो समयदेखि अपेक्षित विकास हुन नसकेको गुनासो गरे।
स्थानीयवासीका अनुसार प्रधानमन्त्री हुँदा ठूलो बजेट आएको चर्चा भए पनि जनजीवनमा अपेक्षित सुधार हुन नसकेको उनीहरूको भनाइ छ। गौरादह–३ का कमलकुमार निरौलाले सडकको अवस्था कमजोर रहेको र धुलोका कारण सर्वसाधारण प्रभावित भएको बताए।
गौरादह–७ की चन्द्रकला दर्जीले सडक सुधारसँगै युवाका लागि रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याइन्। उनले शिक्षित युवाले पनि रोजगारी नपाएको भन्दै विकासका प्रत्यक्ष लाभ जनतासम्म पुग्नुपर्ने माग गरिन्।
दमक–३ का सुकुम्बासी पूर्ण धिमालले आफ्नो घर नजिकै दमक भ्यू टावर बने पनि स्थानीय पूर्वाधारको अवस्था सुधार हुन नसकेको बताए। गौरादह–८ की सबिता ताजपुरियाले स्वास्थ्य र शिक्षा क्षेत्रलाई निःशुल्क तथा पहुँचयोग्य बनाउनुपर्ने आवश्यकता औंल्याइन्।
गौरादह–३ का अवकाशप्राप्त शिक्षक विष्णुप्रसाद पराजुलीले सडक, विद्युत् तथा नदी नियन्त्रणलाई प्राथमिकता दिनुपर्ने बताए। उनले किसानले मल अभाव र राहत नपाएको समस्या पनि उठाए।
दमक–३ की मेनुका कार्कीले सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र वितरण नभएको गुनासो गरिन्। उनले भ्यू टावर निर्माण भए पनि स्थानीयलाई रोजगारीको अवसर नदिएको र पूर्वाधार व्यवस्थापन कमजोर रहेको बताइन्।
स्थानीय राजनीतिक कार्यकर्ताहरूले कृषि, पर्यटन, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने सुझाव दिएका छन्। केही स्थानीयले भ्यू टावरलाई अस्पताल वा शैक्षिक संस्थाका रूपमा प्रयोग गर्नुपर्ने प्रस्ताव पनि अघि सारेका छन्।
झापा–५ क्षेत्रमा शेरबहादुर देउवा लगातार निर्वाचित हुँदै आएको क्षेत्र जस्तै, ओलीको क्षेत्रमा पनि विकासका विषयमा स्थानीय अपेक्षा उच्च रहेको देखिन्छ। स्थानीयवासीले आगामी दिनमा रोजगारी, पूर्वाधार र आधारभूत सेवामा सुधार देख्न चाहेको बताएका छन्।


