Friday, July 3, 2026
Homeसामाचारझापामा यस वर्ष नौ हजार परिवार बाढीको उच्च जोखिममा

झापामा यस वर्ष नौ हजार परिवार बाढीको उच्च जोखिममा

बनियानी (झापा): झापामा यस वर्षको मनसुनमा बाढीका कारण करिब नौ हजार घरपरिवार प्रभावित हुने अनुमान गरिएको छ। नेपाल रेडक्रस सोसाइटी, झापा शाखाका सभापति लोकराज ढकालका अनुसार झापा, गौरीगञ्ज, कचनकवल र बाह्रदशी गाउँपालिका बाढीको उच्च जोखिममा परेका छन्।

शिवसताक्षी, कनकाई, भद्रपुर, मेचीनगर, गौरादह, दमक, अर्जुनधारा र बिर्तामोड नगरपालिका तथा हल्दिबारी र बुद्धशान्ति गाउँपालिका तुलनात्मक रूपमा कम जोखिममा छन्। सभापति ढकालका अनुसार, बाढीको समयमा जिल्लाका विरिङ, कनकाई, रतुवा, मेची, निन्दा, देउनिया, फुलवासा, हडिया, टाङटिङ, नेते, कमल र बनियानीजस्ता नदीहरूमा पानीको बहाव बढ्ने भएकाले तटीय बस्तीहरू प्रभावित हुने गरेका छन्।

उहाँले बाढीले आठ हजार ९१९ घरपरिवार विस्थापित हुनसक्ने अनुमान गरिएको जानकारी दिनुभयो। कनकाई, विरिङ र निन्दा नदीमा बाढी मापन केन्द्रहरू छन् भने जिल्लाभर नौवटा वर्षा मापन केन्द्र सञ्चालनमा छन्। बाढी पूर्वतयारीका लागि एक सय २५ जना रेडक्रस स्वयंसेवक तयारी अवस्थामा राखिएको छ।

जिल्लामा विपद् व्यवस्थापनका लागि दुई सय परिवारलाई पुग्ने गैरखाद्य तथा उद्धार सामग्रीको भण्डारण गरिएको छ। कनकाई नदीको दुवैतर्फ भण्डारण गरिएका सामग्रीमा १५ थान राहत किट, ६ थान लाइफ ज्याकेट, अस्थायी टेन्ट, १० हजार लिटर क्षमताको पानी ट्याङ्की, हाते माइक, साइरनलगायत उपकरण समावेश छन्।

सात वर्षमा ४६ जनाको मृत्यु

पछिल्लो सात वर्षमा झापामा बाढीका कारण ४६ जनाले ज्यान गुमाएका छन् भने एक जना अझै बेपत्ता छन्। विसं २०७५ देखि २०८० को वर्षायामसम्म बाढीका कारण ४६ जनाको मृत्यु भएको हो। सन् २०७६ मा झापा गाउँपालिकाबाट एक जना बेपत्ता भएका थिए, जसको अवस्था अहिलेसम्म अज्ञात छ।

यस अवधिमा नौ हजार २६ घरपरिवार बाढीबाट प्रभावित भएका छन्। तीमध्ये तीन सय ५९ परिवार पूर्णरूपमा विस्थापित र दुई हजार ५८० परिवार आंशिक रूपमा विस्थापित भएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका