Sunday, November 8, 2026
Homeसामाचारज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’ को स्रोत मान्न सक्नुपर्दछः उपराष्ट्रपति यादव

ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’ को स्रोत मान्न सक्नुपर्दछः उपराष्ट्रपति यादव

काठमाडौँ – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ज्येष्ठ नागरिकलाई परिवारको आधारस्तम्भका रूपमा सम्मानपूर्वक स्वीकार गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (अक्टोबर १) का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले भन्नुभयो, “ज्येष्ठप्रति आदर, सहानुभूति र संवेदनशीलता देखाउनु युवा पुस्ताको नैतिक आचरण, दायित्व र जिम्मेवारी हो। नवपिँढीले घर–परिवारमा ज्येष्ठको सहभागिता सुनिश्चित गर्न, उहाँहरूको विचार र सल्लाहलाई सम्मानपूर्वक ग्रहण गर्न, सामाजिक गतिविधिमा सक्रिय राख्न, साथै डिजिटल साक्षरतादेखि स्वास्थ्य सेवासम्मको पहुँचमा सहयोग गर्न जरुरी छ।”

उहाँका अनुसार, ज्येष्ठ नागरिक दिवसले उहाँहरूप्रतिको सामूहिक चेतना, दायित्व र जिम्मेवारी स्मरण गराउने काम गर्दछ। “जीवनयात्रामा उहाँहरूले अँगाल्नुभएको अनुभव, त्याग, सेवा र समर्पणले समाजलाई दिशानिर्देशन गर्नेछ,” उहाँले भन्नुभयो।

सन्देशमा भनिएको छ, “ज्येष्ठ नागरिक हाम्रो सांस्कृतिक, सामाजिक र नैतिक सम्पत्तिका प्रतीक हुनुहुन्छ। उहाँहरूको योगदानको कदर गर्नु हाम्रो कर्तव्य मात्र होइन, सभ्यताको परिचायक पनि हो।”

नयाँ पुस्ताले ज्येष्ठ नागरिकलाई केवल वृद्ध नभई अनुभव, ज्ञान र मार्गदर्शनका स्रोतका रूपमा लिनुपर्नेमा उपराष्ट्रपति यादवले जोड दिनुभयो। उहाँले भन्नुभयो, “समाजले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’ को स्रोत मान्न सक्नुपर्छ। उहाँहरूको गरिमालाई अक्षुण्ण राख्न ज्येष्ठमैत्री पूर्वाधार र सेवा प्रणालीको विकास, सामाजिक सुरक्षाको सुनिश्चितता, एकल ज्येष्ठका लागि सामुदायिक सहारा, मानसिक स्वास्थ्य तथा आत्मसम्मानको संरक्षणमा विशेष ध्यान दिन जरुरी छ।”

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका