लमजुङ, २२ असार: माथि टाकुरा लाग्ने चट्टानी पहाड, तल गहिरो भिर अनि मसिनो धागोजस्तै देखिने मस्र्याङ्दी नदी—यही जोखिमको बीचबाट बनेको हो लमजुङको बेँसीसहरदेखि हिमालपारिको मनाङसम्म जोड्ने बेँसीसहर–चामे सडक। अहिले पनि उक्त सडकमा सयौँ यात्रु दैनिक ज्यानको बाजी लगाउँदै यात्रा गर्न बाध्य छन्।
उन्नत प्रविधि नभएको समय—डोजर वा एक्साभेटर नभइ घन, छिनो र सावेलको भरमा चट्टान खोपेर बनाइएको यो ६५ किलोमिटरको सडक मस्र्याङ्दी नदीको किनारैकिनार हुँदै अग्ला भिरका फेदबाट मनाङको सदरमुकाम चामेसम्म पुगेको छ। यो सडक नेपालकै जोखिमपूर्ण सडकमध्ये एक मानिन्छ।
सधैंको त्रास, सधैंको जोखिम
सडक साँघुरो र अस्थायी प्रकृतिको भएकाले यात्रा सधैं त्रासपूर्ण हुने यात्रुहरू बताउँछन्। अझ बर्खायाममा ठाउँठाउँमा पहिरो खस्दा जोखिम झनै बढेको छ। तीब्र मोड, चट्टानी पहाड, अव्यवस्थित ग्रेडिङ र साँघुरो सडकका कारण यात्रु तथा चालक सधैं सतर्क रहनुपर्ने बाध्यता छ।
स्थानीय सोमबहादुर गुरुङ भन्छन्, “सडक अधिकांश ठाउँमा चट्टान खोपेर बनाइएको छ। मोडहरू साँघुरा छन्, भिर कडा छ—त्रास नभई हुँदैन।”
जीप चालक सोमराज मगरातीको अनुभवमा सडक झन् जोखिमपूर्ण बन्दै गएको छ। “जता बेला पहिरो खस्छ भन्ने थाहा हुँदैन,” उनी भन्छन्, “कतिबेला जीप खस्यो र सीधै मस्र्याङ्दीमा पुग्यो भन्न सकिन्न।” अर्का चालक रामबहादुर तामाङले थपे, “बाँच्ने कुनै सम्भावना हुँदैन—एकछिन ध्यान भंग भयो भने सिधै खोलामा पुगिन्छ।”
सडक निर्माणको इतिहास
बेँसीसहर, खुदी, भुलभुले, स्याँगे, जगत, च्याम्चे, तालबजार, तिमाङ हुँदै चामेसम्मको सडक सञ्जाल सरकारको हिमालपारि जिल्लालाई सडकसँग जोड्ने योजना अन्तर्गत निर्माण गरिएको हो। २०५१ सालमा सडक डिभिजन कार्यालय दमौलीले निर्माण थालनी गरे पनि २०५७ सालदेखि नेपाली सेनाले निर्माणको जिम्मेवारी लिएर काम अघि बढाएको थियो। जोखिमपूर्ण भिरमा कार्यरत सैनिक टोलीले ज्यानको बाजी लगाएर बाटो बनाए पनि निर्माणकै क्रममा केहीको ज्यान गएको इतिहास पनि छ।
२०६९ सालमा सेनाले सडक निर्माण कार्य सम्पन्न गरी सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो। निर्माणको नेतृत्व इञ्जिनियर भरत श्रेष्ठ र इन्द्रीवर गुरुङले गरेका थिए।
सडक स्तरोन्नतिमा कमी, मनाङवासी निराश
सडक निर्माण भए पनि गुणस्तरमा खासै सुधार हुन सकेको छैन। डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार पर्याप्त बजेट अभावकै कारण सडक स्तरोन्नतिमा समस्या आइरहेको छ। चालु आर्थिक वर्षमा ३६ करोड रुपैयाँ मात्र बजेट प्राप्त भएको र आगामी वर्षका लागि ४० करोड रुपैयाँ प्रारम्भिक रूपमा विनियोजन गरिएको जनाइएको छ।
सडक बारम्बार पहिरोका कारण अवरुद्ध हुने भएकाले यात्रुहरू हैरानीमा पर्नुका साथै मनाङवासीलाई अत्यावश्यक सेवाका लागि हेलिकप्टर नै प्रयोग गर्नुको विकल्प रहँदैन।
सडक सुरक्षाको माग
लमजुङ, मनाङ, यात्रु र पर्यटक सबैको एउटै अपेक्षा छ—यो सडक सुरक्षित होस्, गुणस्तरीय बनोस्, र दुर्घटनाको जोखिम घटोस्।


