काठमाडौं । भदौ २३ र २४ गते भएको जेन–जी विद्रोहसँग सम्बन्धित घटनाको छानबिनका लागि गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई अर्को साता बयानका लागि बोलाउने तयारी गरेको छ।
आयोगको टोलीले म्याद थपबारे प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्ने क्रममा राजनीतिक दलका अन्य नेताहरूलाई पनि बयानका लागि बोलाउने तयारी भइरहेको जानकारी दिएको छ।
आयोगका अध्यक्ष सुशीला कार्कीले अर्को साता पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखकसहित विभिन्न राजनीतिक दलका नेताहरूलाई बयानका लागि बोलाइने तयारी रहेको स्पष्ट पारिन्।
“बयान लिने प्रक्रिया जारी छ। तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि अर्को हप्ता बयानका लागि बोलाउने तयारी छ,” अध्यक्ष कार्कीले भनिन्।
ओली र लेखक बयानका लागि उपस्थित नभए के हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष कार्कीले, “पछिको कुरा पछि नै हुन्छ,” भन्दै प्रतिक्रिया दिइन्।
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ७२ जनाको ज्यान गएको थियो भने दुई हजारभन्दा बढी व्यक्ति घाइते भएका थिए। आन्दोलनका क्रममा संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतलगायत सरकारी संरचनासहित राजनीतिक दलका केन्द्रीय कार्यालय, नेताहरूका निजी निवास तथा व्यावसायिक प्रतिष्ठानहरूमा आगजनी र लुटपाट भएको थियो।


