काठमाडौँ । जेन जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनाको जाँचबुझका लागि गठन गरिएको आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पत्र पठाएको छ ।
आयोगले दुवै नेतालाई उक्त घटनासँग सम्बन्धित आफ्नो धारणा र विवरण उपलब्ध गराउन आग्रह गरेको हो । आयोग स्रोतका अनुसार आन्दोलनका क्रममा दुवै नेताको निवासमा आक्रमण तथा तोडफोड भएको थियो । घटनाका क्रममा कांग्रेस सभापति देउवा र उनकी पत्नी आरजुमाथि कुटपिटसमेत भएको थियो ।
आयोगले यसअघि घटनासँग सम्बन्धित तत्कालीन गृहमन्त्री रमेश लेखकसहित १५० भन्दा बढी व्यक्तिसँग बयान लिइसकेको जनाएको छ । साथै, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बयान लिने तयारी भइरहेको आयोगले जनाएको छ ।


