काठमाडौं। जेन–जी आन्दोलनको तनावपूर्ण अवस्थाका बीच नेपाली सेनाले तत्कालीन सरकारले असहयोग गर्नुको कारण पूर्वराजा ज्ञानेन्द्र शाहलाई गद्दीमा फर्काउन खोजिएको हो भन्ने सन्देश छिमेकी मुलुक, विशेषतः भारत, समक्ष पुगेको खुलासा भएको छ। यस्तो सन्देश राष्ट्रपति रामचन्द्र पौडेलको सल्लाहकार समूहमार्फत निरन्तर भारतलाई पठाइँदै आएको बुझिएको छ।
भारतीय पक्ष यसअघि नै जेन–जी आन्दोलनमा भारतीय सरकार संरक्षित केही मिसनरीहरुको संलग्नता देखिएकाले संवेदनशील बनेको थियो। त्यसमाथि आन्दोलनलाई पूर्वराजालाई पुनः गद्दीमा ल्याउने प्रयोजनका लागि नेपाली सेना प्रयोग हुन सक्छ भन्ने सूचनाले भारत झस्किएको बताइन्छ।
भारतीय दूतावास निकट स्रोतका अनुसार, आन्दोलन चर्किएको बेला भारतीय पक्षले सेनाको धारणा बुझ्न गरेको प्रयासमा नेपाली सेनाले पर्याप्त चासो नदेखाएको, प्रधानमन्त्रीलाई हेलिकोप्टरमार्फत सुरक्षित स्थानतर्फ पठाइएको, राष्ट्रपतिलाई सैनिक व्यारेकमा लैजाने प्रयास भएको जस्ता घटनाले भारतमा शंका गहिरिएको थियो।
यस्तै परिस्थितिमा भारतले तत्कालका लागि पूर्वराजालाई गद्दीमा पुनर्स्थापना गर्नु उचित नहुने ठानी राष्ट्रपति पौडेललाई कुनै हालतमा पनि पद नत्याग्न सुझाव–दवाब दिएको बताइन्छ। राष्ट्रपतिमा राजीनामाको दवाब बढ्दै जाँदा व्यारेकभित्रैबाट बाथरुम हुँदै भारतीय पक्षसँग फोन सम्पर्क गर्नसम्म सुझाव दिएको उल्लेख छ।
संकटको बेला भारतीय पक्षसँग सम्पर्क कायम गर्ने प्रमुख व्यक्ति राष्ट्रपति पौडेलका राजनीतिक सल्लाहकार सुनीलबहादुर थापा रहेको दूतावास स्रोतले जनाएको छ। थापाले सेनाले लोकतान्त्रिक प्रणाली उल्ट्याउन खोजेको र पूर्वराजालाई गद्दीमा ल्याउन लागेको भन्ने सूचनाहरू भारतलाई पुर्याएका थिए।
हाल भने सेनाबारे यस्ता अफवाहपूर्ण सूचनाहरू छिमेकी मुलुकलाई पु¥याइएकामा राजनीतिक तथा कूटनीतिक तहमा गम्भीर छलफल हुँदै आएको छ। नेपाली सेनाले पूर्वराजालाई सत्तामा फर्काउन खोजेको कुनै प्रमाण नरहेको, बरु तत्कालीन प्रधानमन्त्री केपी ओलीको राजीनामापछिको जटिल राजनीतिक अवस्थालाई स्थिर राख्न र हिंसात्मक गतिविधि नियन्त्रण गर्न सेनाको प्रयास भएको बताइन्छ।
यसरी असत्य सूचनाहरू भारतसम्म पु¥याइनुको राजनीतिक वा कूटनीतिक उद्देश्य भने अहिलेसम्म स्पष्ट भइसकेको छैन।


