काठमाडौँ — जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिका बिमा दाबीमध्ये हालसम्म बीमितलाई रु पाँच अर्ब १८ करोड भुक्तानी गरिएको छ।
नेपाल बिमा प्राधिकरणका अनुसार निर्जीवन बिमा कम्पनीहरूमा दर्ता भएका कूल ३,३०३ वटा बिमा दाबीबाट करिब रु २३ अर्ब ४५ करोड दाबी रकम उठेकोमा हालसम्म उक्त रकममध्ये रु ५ अर्ब १८ करोड भुक्तानी भइसकेको छ।
प्राधिकरणले जनाएको अनुसार सम्पत्ति बिमातर्फ करिब रु ३ अर्ब ८२ करोड र मोटर बिमातर्फ करिब रु १ अर्ब २२ करोड भुक्तानी भएको छ। यस्तै, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बिमातर्फ करिब रु ७ करोड ५० लाख, परिवहन बिमातर्फ करिब रु १ करोड ५५ लाख तथा अन्य बिमातर्फ करिब रु ५ करोड ५० लाख अग्रिम भुक्तानीसमेत गरी दाबी रकम भुक्तानी गरिएको छ।
यसैबीच, जेनजी आन्दोलनसम्बन्धी बिमा दाबी भुक्तानीका लागि नेपाल पुनःबिमा कम्पनीले निर्जीवन बिमा कम्पनीहरूलाई अग्रिम भुक्तानीसमेत गरी करिब रु ३ अर्ब २ करोड पुनःबिमा दाबी भुक्तानी गरेको छ।
नेपाल पुनःबिमा कम्पनीमा १४ वटा निर्जीवन बिमा कम्पनीबाट कूल २,८६२ वटा पुनःबिमा दाबी परेका छन्, जसको कुल दाबी रकम करिब रु १६ अर्ब ६२ करोड रहेको अध्यावधिक तथ्याङ्कमा उल्लेख छ।


