Sunday, November 8, 2026
Homeसामाचारजेनजी आन्दोलनमा देशका प्रमुख संरचनामा व्यापक क्षति

जेनजी आन्दोलनमा देशका प्रमुख संरचनामा व्यापक क्षति

काठमाडौं। भ्रष्टाचार नियन्त्रण, सामाजिक सञ्जालको निर्वाध सञ्चालन र युवा नेतृत्वका लागि जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा मुलुकले ठूलो भौतिक तथा मानवीय क्षति व्यहोर्नुपरेको छ। नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोड्ने क्रममा सोमबार भएको झडपपछि मंगलबार प्रदर्शन अझै उग्र बनेको थियो।

यस क्रममा देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहितका संरचनामा अपूरणीय क्षति भएको छ। भर्खरै पुनःनिर्माण सम्पन्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकांश भाग जलेर नष्ट भएका छन्।

आगजनी भएको २४ घन्टापछि पनि सिंहदरबारभित्रका विभिन्न मन्त्रालयमा धुँवा आइरहेको छ। गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ, शिक्षा, संघीय मामिला, स्वास्थ्य, भौतिक पूर्वाधारलगायतका मन्त्रालय बढी प्रभावित भएका छन्। सिंहदरबारस्थित नेपाली कांग्रेस र नेकपा (एमाले) संसदीय दलको कार्यालयसमेत पूर्णरूपमा क्षति भएको छ।

सिंहदरबारभित्र पार्किङ गरिएका करिब एक हजार सवारी साधनमा आगजनी र तोडफोड भएको छ। मन्त्रालयभित्र रहेका कम्प्युटर, ल्यापटप, प्रिन्टर, फर्निचर र अन्य सामग्रीसमेत तोडफोड र लुटपाट भएको कर्मचारीहरूले जनाएका छन्। यसबाट राज्यलाई अर्बौँको क्षति भएको अनुमान गरिएको छ।

प्रदर्शनकारीले राष्ट्रिय अनुसन्धान विभाग, केन्द्रीय क्यान्टिन, दूग्ध विकास संस्थानको बिक्री केन्द्रमा पनि लुटपाट, तोडफोड र आगजनी गरेका छन्। मन्त्रालयभित्र रहेका राज्य सञ्चालनसम्बन्धी महत्त्वपूर्ण कागजातहरू छरपस्ट भएका छन्।

सिंहदरबार परिसर सुनसान रहँदा बाहिर रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयसमेत पूर्णरूपमा ध्वस्त भएको छ। त्यहाँ कार्यालय भवन, आवास, रासन, करिब ४०० सवारी साधन र दुई लाखभन्दा बढी सवारी चालक अनुमतिपत्र जलेर नष्ट भएको बताइएको छ। मेट्रो ट्राफिक एफएम स्टेसन र भवनसमेत क्षतिग्रस्त भएको छ।

यसैगरी सर्वोच्च अदालतमा पनि आगजनी भई अभिलेख, फैसला, मिसिल, कागजात तथा भौतिक संरचना नष्ट भएको छ। हाल आगलागी नियन्त्रण र क्षति व्यवस्थापनको काम सुरु भएको छ।

जेनजी पुस्ताको पूर्वनिर्धारित कार्यक्रमअनुसार फोहर व्यवस्थापनमा नागरिकहरू पनि स्वतःस्फूर्त रूपमा सहभागी भएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका