Sunday, November 8, 2026
Homeसामाचारजेनजी आन्दोलनपछि व्यवसायीहरूको आवाज : ‘अब देश शान्त हुनैपर्छ’

जेनजी आन्दोलनपछि व्यवसायीहरूको आवाज : ‘अब देश शान्त हुनैपर्छ’

काठमाडौँ, २५ भदौः सोमबारदेखि सुरु भएको शान्तिपूर्ण भनिएको जेनजी आन्दोलन हिंसात्मक बन्दै जाँदा हालसम्म ३० जनाले ज्यान गुमाइसकेका छन्। मंगलबार मात्रै १९ जनाको मृत्यु भएपछि प्रदर्शनकारी आक्रोशित भई तोडफोड, लुटपाट र आगजनीमा उत्रिएका थिए।

प्रदर्शनकारीहरूले सरकारी तथा निजी सम्पत्तिलाई निशाना बनाउँदा देशभरका अधिकांश सरकारी कार्यालयमा तोडफोड, लुटपाट र आगजनी भएको छ। नक्सालस्थित हिल्टन होटलबाट सुरु भएको आगजनी सिंहदरबारसम्म पुगेको थियो। मंगलबार सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विभिन्न अदालत, राष्ट्रपति कार्यालय र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत आगजनी भएको हो।

आन्दोलनकारीहरूले मीनबहादुर गुरुङको भाटभटेनी सुपरमार्केटका १२ वटा स्टोरमा आगो लगाइदिएका छन् भने अन्य ८ वटा स्टोरमा आंशिक क्षति भएको छ। चितवन, विराटनगर र हेटौँडामा रहेका स्टोर पनि तोडफोड र लुटपाटमा परेका छन्। भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार १२ वटा स्टोरमा अबौं रूपैयाँ बराबरको क्षति भएको छ।

यस्तै, नेपाली कांग्रेस सांसद तथा उद्योगपति विनोद चौधरीको सीजी इलेक्ट्रोनिक्समा आगजनी भई पूर्ण क्षति भएको छ। भैरहवा र थापाथलीस्थित सीजी मोटर्सका शोरुम पनि तोडफोडमा परेका छन्।

क्याप्टेन रामेश्वर थापाको तीनकुनेस्थित सिम्रिक एयर कार्यालय, बत्तीसपुतलीस्थित मारवाडी सेवा समितिको भवन, थापाथलीस्थित हुण्डाई र सिप्रदी अटोपार्ट्ससहित अन्य शोरुममा समेत आगजनी भएको छ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालको लगानीमा सञ्चालित चन्द्रागिरि र मौलाकाली केबलकारका तल्लो स्टेसनमा तोडफोड र आगजनी भएको छ। उद्योगी शेखर गोल्छाको घरमा समेत आगजनी भएको छ।

कलंकी क्षेत्रमा रहेका केएफसी र अन्य पसलहरूमा पनि ठूलो क्षति पुगेको छ।

व्यवसायीहरूले निजी सम्पत्ति तोडफोड, लुटपाट र आगजनी हुनु दुःखद भएको बताएका छन्। हजारौँलाई रोजगारी दिएको क्षेत्रमा प्रहार हुनु गलत भएको भन्दै उनीहरूले अब मुलुकमा शान्ति कायम गर्नुपर्नेमा जोड दिएका छन्।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष शेखर गोल्छाले “अब के गर्ने ?” भन्ने विषयमा व्यवसायीहरूबीच छलफल भइरहेको बताए। उनले भने, “व्यवसायमा क्षति भएको छ, तर अब देशलाई शान्त बनाउनुपर्छ।”

राष्ट्रिय व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष नरेश कटुवालले पनि शान्त वातावरण कायम गर्न अपरिहार्य रहेको बताए। उनका अनुसार आन्दोलनले मुलुकको व्यवसायिक वातावरण मात्र होइन, रोजगारी, कर र राजस्वमा समेत प्रत्यक्ष असर पारेको छ।

विशेषज्ञहरूका अनुसार यस आन्दोलनले अर्थतन्त्रमै ठूलो प्रभाव पार्ने अवस्था सिर्जना भएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका