Saturday, November 7, 2026
Homeसामाचारजेनजी आन्दोलनपछि बानेश्वरको संसद् भवन खण्डहर, नयाँ भवन समयमै नबन्ने संकेत

जेनजी आन्दोलनपछि बानेश्वरको संसद् भवन खण्डहर, नयाँ भवन समयमै नबन्ने संकेत

काठमाडौँ। जेनजी आन्दोलनका क्रममा आगलागी र तोडफोड भएको बानेश्वरस्थित संसद् भवन अहिले खण्डहर बनेको छ। रातो स्टिकर टाँसिएको उक्त भवनका भित्तामा जेनजी आन्दोलनका नारा अझै देखिन्छन् भने जलेका भग्नावशेषबाट खरानीको गन्ध आइरहेको छ। भवनभित्र सिसा यत्रतत्र छरिएका छन् र विभिन्न स्थानमा खरानीका थुप्रोहरू अझै कायम छन्।

यसैबीच, सिंहदरबारभित्र लामो समयदेखि निर्माणाधीन नयाँ संसद् भवनको काम पनि अझै पूरा हुन सकेको छैन। जेनजी आन्दोलनपछि घोषणा भएको निर्वाचन आउन अब करिब ६ हप्तामात्र बाँकी रहेकाले यो अवधिमा नयाँ संसद् भवन तयार हुने सम्भावना न्यून देखिएको छ।

नयाँ संसद् भवनभित्र हाल कामदारहरू फर्निचर जडानलगायतका काममा व्यस्त रहे पनि संरचनागत कामहरू अझै पूरा भइसकेका छैनन्। यस्तो अवस्थालाई मध्यनजर गर्दै संसद् सचिवालयले फागुन २१ गते हुने निर्वाचनपछि तत्काल बैठक सञ्चालन गर्न आवश्यक पूर्वाधारसहितको भवनको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।

सचिवालयले सभाहल, पदाधिकारी तथा कर्मचारीका कार्यकक्ष, संसदीय दलका कार्यालय, सभा सञ्चालनका लागि आवश्यक अडियो–भिडियो रेकर्डिङ, प्रत्यक्ष प्रसारण, श्रव्यदृश्य तथा सूचना प्रविधिसम्बन्धी उपकरणसहितको भवनको व्यवस्था गरिदिन अनुरोध गरेको हो। नयाँ संसद् भवन समयमै तयार नहुने भएपछि सचिवालय वैकल्पिक भवनको खोजीमा लागेको जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका